काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी दुरूपयोगको आरोपमा उजुरी परेको छ । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा मंगलबा जाहेरी परेको हो ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ले लामिछानेविरूद्ध मंगलबार जाहेरी दिएका हुन् ।
यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए । अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो । सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनी दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानबिन गर्न जाहेरीमा माग गरिएको छ ।
लामिछानेले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए । अमेरिकी पासपोर्टवाहक उल्लेखित रवि लामिछानेले अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा राहदानी बनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पुरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेस गरी त्यही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी नेपाली राहदानी लिएर दुरूपयोग गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
लामिछानेले राहदानी ऐनको प्रचलित व्यवस्थाविपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए ।
“रवि लामिछानेले नेपाली राहदानी कानुनको बर्खिलाप हुने गरी नेपाली राहदानीसमेत लिई दोहोरो राहदानी राख्ने एवम् दोहोरो राहदानी प्रयोग गरेको र तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित राहदानीसम्बन्धी कसुर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरी कानुनबमोजिम मुद्दा चलाई कानुनी कारबाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेस गरेको छु,” जाहेरीमा भनिएको छ ।
उक्त कसुरअनुसार लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिबानासमेत गर्ने गरी कानुनबमोजिम मुद्दा चलाउन माग गरिएको छ । लामिछानले गैरनेपाली नागरिक रही प्राप्त गरेको राहदानीलाई लिएर कानुन बमोजिम मुद्दा चलाउन माग गरेका छन् ।