रवि लामिछानेले पुनः लिए नागरिकता

66

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका लामिछानेले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् ।

उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्थामा भनिएको छ, “कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने छ ।”

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए । तर, २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेस गरेका थिएनन् ।

२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेस गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेस गरेका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेपछि लामिछानेविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

सर्वोच्चले उनको सांसद पद बदर गरिदिएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत गुमेको थियो ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सभापतिसमेत थिए । अहिले उक्त पदमासमेत उनी छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...