सरकारसहित १२ जनाविरूद्ध प्रेम आचार्यकी श्रीमतीले दिइन् जाहेरी

146

काठमाडौँ, १३ माघ । इलाको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँबानेश्वरस्थित संसद् भवन अगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरूद्ध आत्मदाह दुरूत्साहनमा जाहेरी दर्ता भएको छ । बिहीबार काठमाडौँ प्रहरी परिसर टेकु पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीविरूद्ध जाहेरी दिएकी हुन् ।

“संसद् भवनबाहिर आत्मदाह गर्नुअघि मृतक आचार्यले फेसबुकमा उल्लेख गरेका व्यक्ति र कम्पनीहरूविरूद्ध मुलुकी अपराधसंहति २०७४ को दफा १८५ समेत विपरीत आत्मदाह गर्न दुरूत्साहनसम्बन्धी जाहेरी दर्ता गरिएको छ,” अधिवक्ता स्वागत नेपालले भने, “मृतक आचार्यले फेसबुकमा आत्मदाह गर्नुअघि पोस्ट गरेको मृत्युकालीन घोषणालाई उनकी श्रीमती नानुका अधिकारी फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसुरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको थियो ।”

कसुरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी र सान इन्टरनेसनल कलेज, नक्सालले विद्यार्थीलाई टुर प्याकेजमा लैजादा पाउनुपर्ने १ लाख ७५ हजार रूपैयाँ तथा अर्को ९० हजार रूपैयाँ, सुजुकी सोरूम, थापाथलीले डाउन पेमेन्टमा किनेको गाडी फिर्ता लगेर ४ लाख नदिएको, इलाम सूर्योदय नगरपालिका–११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको साम्पाङ डेरी, बजार पठाउनुपर्ने घिउ नौ महिनासम्म गोदाममा राखेर फिर्ता लिन दबाब दिने डा.उपेन्द्र महतो, डा.समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनीबाट अन्दाजी २ लाख रूपैयाँ, अन्तिम समय अडरको घिउ नलिने पवन गोल्यान र गोल्यान एग्रोबाट ८ लाख ८० हजार रूपैयाँ भुक्तानी हुन बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ ।

त्यस्तै, अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस युएइबाट २५ हजार रूपैयाँ, डाबर नेपाल र शंकर पन्तबाट ३० हजार रूपैयाँ, ५ वर्षको करार ६ महिनामा भंग गर्ने कन्याम इनबाट १० लाख रूपैयाँ, झापा धुलाबारीका अनिल भेटवालबाट ५ लाख ५० हजार रूपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ र नेपाल सरकारविरूद्ध जाहेरी दिइएको छ ।

“मुलुकी अपराधसंहिता, २०७४ को दफा १८५ विपरीत आत्महत्या गर्न दुरूत्साहन दिने कसुर गरेको हुँदा यस जाहेरी दरखास्तमा किटानी गरिएका संगठित संस्थाहरूबाट भएको कसुरको हकमा ऐसंहिताको दफा ३० बमोजिम कारबाही गरी पाउँ,” जाहेरीमा उल्लेख गरिएको छ, “कसुरदारहरूलाई पक्राउ वा आवश्यक सम्पूर्ण अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइ पीडित परिवारलाई प्रगति विवरणसम्बन्धी वास्तविकता जानकारी गराउँदै आवश्यक कानुन कारबाही सजाय गरी ऐसंहिताको दफा १८६ बमोजिम क्षतिपूर्ति समेत दिलाई पाउँ ।”

मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्महत्या दुरूत्साहनको कसुरमा जाहेरी दर्ता गरेकी काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

मंगलबार संसद् भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनले फेसबुकमा विभिन्न व्यवसाय गर्दा दलाल, बिचौलिया र ठुला व्यापारिक घरानाले शोषण गरेको आरोप लगाएका थिए । उनले विभिन्न व्यवसाय गर्दा ६० लाखभन्दा बढी ऋण लागेपछि आफूले आत्मदाहको निर्णय लिएको पोस्टमा उल्लेख गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...