काठमाडौँ, १० माघ । नेपाल टी–२० लिग क्रिकेटमा भएको ‘लाइभ बेटिङ’ र स्पट फिक्सिङ’मा चार नेपालीसहित १० जनाको संलग्नता रहेको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार पत्रकार सम्मेलन गरेर ४ नेपाली र ६ जना विदेशी खेलाडीको संलग्नता देखिएको जानकारी दिएको हो ।
स्पट फिक्सिङमा संलग्न नेपालीमध्ये १ जना खेलाडी छन् । ३ जना अन्य व्यक्ति रहेको सिआइबीले जनाएको छ । यस्तै, ६ जना विदेशीमध्ये १ जना खेलाडी, ४ जना व्यवस्थापक र १ जना बाहिरी व्यक्ति संलग्न रहेको जनाइएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ लाखदेखि १० लाख रूपैयाँसम्मको प्रस्ताव गरिएको सिआइबीले जनाएको छ । स्पट फिक्सिङका लागि उनीहरूलाई प्रत्यक्ष तथा अन्य सामाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रूपले प्रलोभनमा पार्ने प्रयास गरिएको थियो । यस्तै, सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिकासमेत शंकास्पद रहेको जनाएको छ ।
स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलमले प्रलोभनमा परेर कम्तीमा दुई खेलमा एक वाइड र एक नो बल फालेको प्रहरी अनुसन्धानले देखाएको छ ।
यसैगरी कीर्तिमानी पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमसमेत फिक्सिङमा संलग्न भएको खुलेको छ । उनले एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका थिए ।
छानबिन तथा प्रारम्भिक अनुसन्धानको क्रममा पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाइ स्पट फिक्सिङ गर्ने प्रयास गरेको खुलेको छ ।
स्पट फिक्सिङको आरोपमा प्रहरीले पूर्वक्रिकेटर आलम र राष्ट्रिय टोलीका सदस्य आदिल आलमलाई पक्राउ गरिसकेको छ । उनीहरूलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ ।
जनकपुर रोयल्सबाट नेपाल टी–२० लिगमा ८ खेल खेलेका आदिलले वेस्ट युनाइटेडविरूद्ध छैटौँ ओभरमा फ्याकेको नो बलले उनी शंकाको घेरामा तानिएका थिए ।
मेहबुब आलम भने स्पट फिक्सिङका लागि बाहिरबाट भूमिका खेलेको बताइएको छ ।
मिलेमतोमा संलग्नलाई हुनसक्छ ३ वर्ष कैद र ५० हजार जरिबाना
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेल मिलेमतोमा संलग्नता पुष्टि भए दोषीमाथि ३ वर्ष कैद र ५० हजार जरिबानाको व्यवस्था गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने व्यवस्था छ । यसमा नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारी ले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न नहुने उल्लेख गरिएको छ ।
त्यस्तै, दफा ३२ को (ग)मा कसूरसम्बन्धी व्यवस्था छ । यसअनुसार खेलमा मिलेमतो तथा अनियमितता गरेमा यस ऐनअन्तर्गत कसूर मानिने उल्लेख छ ।
दफा ३३ मा सजायसम्बन्धी व्यवस्था छ । जसअनुसार ३ वर्ष कैद र ५० हजार जरिबाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकमसमेत जफत हुने उल्लेख छ ।
यसबाहेक कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्धत गर्ने व्यक्तिलाई मुख्य कसूरदारसरह सजाय हुने कानुनी व्यवस्था छ ।