काठमाडौँ, २ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
दुर्घटनाको कारणबारे सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनको विश्वास छ । उपराष्ट्रपति पुनले आयोगले दिने प्रतिवेदनलाई तदारूकताका साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।
उपराष्ट्रपति पुनले एक शोक वक्तव्य जारी गर्दै आइतबार बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठुलो मानवीय क्षतिले स्तब्ध बनाएको जनाएका छन् । उनले भनेका छन्, “नेपालको आन्तरिक हवाई उडानकै सबैभन्दा ठुलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवम् यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
नेपालमा पटक–पटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको र यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।