वामदेव गौतमको टिप्पणी– राजनीतिमा महाभूकम्प ल्याउने योजनाकार ओली, मुख्य पात्र प्रचण्ड

76

काठमाडौँ, २९ पुस । राष्ट्रियसभाका सांसद् वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेको सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार मार्गदर्शक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् । तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाइ थियो ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको दिए ।

“मलाई धेरै पत्रकारहरूले सोध्नुभएको थियो यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भने– पात्र त प्रचण्ड नै हो । तर, योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरू छन्,” उनले भने, “कृष्णलाई मुख्य मान्छन् तर धनुवाण चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रूपमा अर्जुनलाई मानिन्छ । यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली र मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।”

सांसद गौतमले नेपालको संविधानमा केही पनि प्रतिपक्ष भन्ने नरहेको जिकिरसमेत गरे । एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको गौतमको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...