प्रचण्डको पक्षमा २६८, विपक्षमा २ मत

41

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो ।

बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कुल २७० सांसद उपस्थित थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठुलो दलका रुपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने छ ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...