काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आफूले दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आग्रह गरेको बताए ।
उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए ।
‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले अझै पनि केही काम गर्न बाँकी छ । त्यो बाँकी काम म यसपटक प्रधानमन्त्री हुँदा पूरा गर्न लागिपर्छु,’ प्रचण्डले भने ।
उनले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पारे । आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहुँच होइन विधिको शासन सुरु गर्ने र ६० खर्ब बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताए ।
आफूले अगाडि बढाएको मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाले आज देश अगाडि बढेको जानकारी दिए ।
आगामी छ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।