काठमाडौँ, १८ पुस । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आइओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।
निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आइओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आइओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।