काठमाडौँ, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
“परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”
प्रेस जगतलाई राज्यले अंकुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।