जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

62

काठमाडौँ, १६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरण अन्तर्गत शुक्रबार बिहान भएका अन्तिम खेलपछि छ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अंक जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अंक हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अंकका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औँ मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्थात् खेलको ५१औँ मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औँ मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए ।

खेलको ५८औँ मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औँ मिनेटमा गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औँ मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए । साथै, खेलको ८९औँ मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

Share This:
सम्बन्धित खबर
Loading...