काठमाडौँ, ५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदै छ ।
कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुने छ भने समूह बीमा दुई खेल हुँदै छ । पहिलो खेल समूह ‘बी’ मा रहेका इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुने छ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।
त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुने छ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुने छ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुने छ ।
उक्त खेल राति ९ः४५ बजे सुरु हुने छ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कुल ६४ खेल हुने छ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् ।
फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।
कतारको अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गर्दै खाता खोले । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए ।
त्यस्तै, खेलका ३१औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अंक जोडेको छ ।