परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

45

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताए । आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरेका हुन् ।

निर्वाचित भएपश्चात् काठमाडौँ क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा कुल ७० हजार नौ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कुल १५ वटा वडा समेटिएका छन् । प्रदेशसभा १ तर्फ काठमाडौँ महानगर–२, ४ र ५ पर्दछन् । प्रदेशसभा २ तर्फ काठमाडौँ महानगर–३, बुढानीलकण्ठ नगरभित्रका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नम्बर २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...