साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात

19

काठमाडौँ, २ मंसिर । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुईवटा विद्युत्‌गृहको ३९ मेगावाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युत्‌गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकदेखि क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युत्‌को स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाब घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योगहरुले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्‌को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्‌को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको छ ।

स्रोत : नेपाल विद्युत् प्राधिकरण

 

थप २३.५ मेगावाट निर्यात अनुमति
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत् केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत् भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युत्‌बाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेस गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...