क्षमतावानलाई अवसरका लागि हामीलाई मतदान गर्नुहोस् : रवि लामिछाने

74

चितवन, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्षमतावानलाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन् । उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरेका छन् ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आममतदातालाई कुनै प्रलोभनमा नपरी निर्धक्कसँग जनप्रतिनिधि छान्न अनुरोध गरे । देशमा नातावाद र कृपावादलाई अन्त्य गर्नेलाई छान्नुपर्ने बताउँदै उनले भने, “देशमा नातावाद, कृपावादलाई अन्त्य गर्न हामी आएका हौँ ।”

आम मानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको भन्दै उनले यो बेथिति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गरे । उनले भने, “राणा शासनबाट बहुदलीय गणतन्त्रीय व्यवस्थासम्म आइपुग्दा एउटा कुराको समानता छ, क्षमता र दक्षताका आधारमा नभइ सधैँ शक्ति केन्द्रमा रहेकासँगको सम्बन्धका आधारमा सामान्य कामदेखि ठुला नियुक्तिसम्म हुने गरेका छन् ।” यही शक्तिका कारण आममानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको उनको भनाइ छ ।

पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको उनको भनाइ छ । राजनीतिक सिन्डिकेटका कारण जान्नेले अवसर नपाएको उनको भनाइ छ । राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावानले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने सभापति लामिछानेले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी आमजनताको पार्टीका रूपमा निर्वाचनमा आएको उल्लेख गर्दै उनले हरेक काममा नयाँ सोच र नयाँ जागरका लागि स्वागत गर्ने बताए । २५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एसिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेटक्वार्टर चितवनमा राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई नछाड्ने, २४ घन्टा हटलाइनमा नागरिकका गुनासा सुनुवाइ गरिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने, शिक्षा प्रणालीमा सुधार गरिने घोषणापत्रमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...