ओलीलाई प्रचण्डको प्रश्न– संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ?

59

काठमाडौँ, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रूपमा यही मंसिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले ७० वर्ष संघर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत् पराजित गर्नुपर्छ भने ।

उनले झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई टुक्राटुक्रा पार्ने र जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरूपमा पटक पटक विघटन गर्ने काम नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गरेको आरोप लगाए ।

उनले भने, “संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरू केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ ।” नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनुहुन्न, गणतन्त्र हुनुहुन्न र नेपाली जनतालाई अधिकार दिनुहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत दिन नहुने उनको भनाइ थियो ।

नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उनले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरूपमा सफल बनाउनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...