काठमाडौँ, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परिवर्तन गर्ने क्रमले तिव्रता पाएको छ ।
मंसिर ४ को निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)सहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् ।
सो क्रममा गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नम्बर २ बाट एमालेका नेता धामेश खत्रीसमेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ‘ख’ का उम्मेदवार श्यामबहादुर खड्काले उनीहरुलाई स्वागत गरेका छन् ।
निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् ।
त्यसैगरी, नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।