मुलुक समृद्ध बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा

31

डडेल्धुरा, ३० कात्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नु परेको बताए ।

“संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो,” उनले भने, “त्यसैले हामीले अस्थिरता अन्त्यका लागि गठबन्धन गरेर अघि बढेका हौँ ।”

लामो समय मुलुकको विकास एवम् समृद्धिका लागि अघि बढेकाले गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन उनले आग्रहसमेत गरे । उनले स्थानीय सडक पूर्वाधार निर्माण, खानेपानी समस्या समाधान गर्नुका साथै बगरकोट शीर्ष रूपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको बताए ।

“अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक बनाउने छौँ,” उनले भने, “समग्र डडेल्धुराको विकासका काम अघि बढाइने छ ।”

Share This:
सम्बन्धित खबर
Loading...