रूसी क्षेप्यास्त्र पोल्यान्डमा खस्दा दुई जनाको मृत्यु

35

एजेन्सी, ३० कात्तिक । पोल्यान्डले रूसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएको बताएको छ । क्षेप्यास्त्र खसेसँगै रूस–पोल्यान्ड आरोपप्रत्यारोप पनि सुरू भएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को सदस्य पोल्यान्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने कस्कोले त्यसको खण्डन गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।

इन्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपतकालीन बैठक भएको छ । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल क्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर उपस्थित थिए । उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलायत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी सेभेनको बैठक पनि भएको छ ।

इन्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० को शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन् ।

प्रारम्भिक विवरणअनुसार रूसको नियोजित आक्रमाण हो वा होइन भन्नेबारे पोल्यान्डले अनुसन्धान थालेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले क्षेप्यास्त्र रूसबाट प्रहार नभएको हुनसक्ने बताए ।

अन्नपात सुकाइरहेको गाउँलेमाथि क्षेप्यास्त्र खसेको पोल्यान्डका सुरक्षा अधिकारीहरूले बताएका छन् । जी सेभेनले क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । एक वक्तव्य निकालेर समूहले आक्रमलाई बर्बर भनेको छ । पोल्यान्डको अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन रहेको तथा सहयोग गर्न तत्पर रहेको बताएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि पोल्यान्डमा क्षेप्यास्त्र खसेको घटनाबाट आफू चिन्तित रहेको बताउँदै त्यसको विस्तृत अनुसन्धानका लागि आह्वान गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...