काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेकपा (माओवादी केन्द्र) पाँच/सात सिटमा सीमित हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले वर्तमान सत्ता गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गरे ।
अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्दे दाबी गरे । एमालेको सरकार बन्नेबित्तिकै गठबन्धन नरहने उनले बताए । उनले भने, “यो गठबन्धन मंसिर ४ पछि रहँदैन, खरानीको डल्लोजस्तै हो ।”
अध्यक्ष ओलीले हिजो छोरी बिकाउनका लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइरहेको बताए ।
“गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन,” उलने भने, “नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैको जुवाईँलाई जिताउनका लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।”
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान शासकीय स्वरूपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताए । यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे ।
अहिले भइरहेको प्रणालीभन्दा कार्यान्वयन गर्र्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरूप पनि असफल हुने प्रष्ट परे ।