लप्सीफेदी र जर्सिङपौवालाई पर्यटनको गन्तव्य बनाउने छु : कुन्तीदेवी पोख्रेल

74

काठमाडौँ, ३० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई आक्रामक बनाएकी छन् ।

उनले चुनाव प्रचारप्रसारका क्रममा आफ्ना कार्ययोजना पनि सँगसँगै प्रस्तुत गरेकी छन् । शंखरापुरका मतदातासमक्ष आफूले चुनाव जितेमा यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छन् ।

उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालका लागि उपयुक्त वातावरण भएकाले सुविधा सम्पन्न विशेष अस्पताल बनाउनका लागि संसद्‌मा आवाज उठाउने बताएकी हुन् । उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौँको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ ।’ पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरुले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नति हुने औँल्याइन् ।

त्यसैगरी, देशका महत्वपूर्ण मन्त्रालय, कार्यालयहरु सबै सिंहदरबार र आसपासमा मात्रै भएकाले केहीलाई काठमाडौँ क्षेत्र नम्बर २ मा स्थानान्तरण गर्नुपर्ने भन्दै आफूले चुनाव जितेमा ४ वटा मन्त्रालय यस क्षेत्रमा ल्याउन पहल गर्ने पनि बताइन् ।

पोख्रेलले जर्सिङपौवा पर्यटकीय क्षेत्रका लागि अत्यन्तै उपयुक्त भएकाले देशमा पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रमा आफूले चुनाव जित्नै पर्नेमा जोड दिइन् । यस क्षेत्रका धेरै युवाहरु रोजगारीको सिलसिलामा विदेशिन बाध्य भएकाले उनीहरुलाई देशमै स्वरोजगार बनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको भन्दै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् ।

पोख्रेलले भनिन्, ‘पर्यटन विकास र प्रवर्द्धनका लागि लगानीको वातावरण नभएको भन्दै आफूले जितेमा यस क्षेत्रलाई पर्यटन व्यवसायको विकासको लागि लगानीको वातावरण र शान्तिसुरक्षाको ग्यारेन्टी गर्ने छु ।’ उनले शंखरापुरका मतदातासँग घरदैलो तथा भेटघाटका कार्यक्रममा यस्तो बताएकी हुन् । यसरी घेटघाट गर्ने क्रममा आमजनताबाट पाएको अपार माया र विश्वासका लागि धन्यबाद ज्ञापन गर्दै यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन आगामी मंसिर ४ गते ‘हलो’मा मतदान गर्न आग्रह गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...