नेपाललाई यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि

41

काठमाडौँ, २५ कात्तिक । बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

खेलमा सुरूवाती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेतमा शुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४औँ मिनेटमा बंगलादेशकी खेलाडी रूमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

खेलको ८९औँ मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी बिबी रिताको पेनाल्टी प्रहार नेपालकी गोलरक्षक सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो ।

नेपाल शीर्ष स्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । नेपालले ४ खेलमा अपराजित रहँदै १० अंक जोड्यो । ७ अंकसहित बंगलादेश उपविजेता बन्दा भुटान अंकविहीन रहँदै घर फर्कियो ।

प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...