मन्त्री पौडेलको प्रश्न– झापाका ओलीले यहीँ जिल्लाको नागरिकलाई पाहुना भन्न मिल्छ ?
बागलुङका ६ वटै सिट गठबन्धनले जित्छ
बागलुङ, २४ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेका छन् ।
बुधबार तमान खोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
“म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकासका लागि ज्यान दिएर लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उनले भने ।
केही दिनअघि एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आएका एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिसभा सदस्यका उम्मेदवारलाई पाहुनाको संज्ञा दिएका थिए ।
पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गरे ।“बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ,” उनले भने, “यहीँ आँकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनु परेको हो ।”
उनले पौडेलले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन सहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।
संविधानमा उल्लेख भएका जनताका अधिकारहरु तोडमोड गर्नेविरुद्ध उभिन नेताकार्यकर्तालाई आग्रह गरे ।
उनले अहिलेको गठबन्धन रहरमा नभइ इतिहासको आवश्यकता भएको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य निरज पुनले बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवारबीच तुलना हुन नसक्ने टिप्पणी गरे। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मात्र संविधान रक्षाका र बागलुङको विकास हुने बताउँदै विपक्षी उम्मेदवारसँग तुलना हुनै नसक्ने ठोकुवा गरे ।
कार्यक्रममा प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार दोर्ण कुँवरले बागलुङको विकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताए ।