- रोशन जिसी
बागलुङ, २४ कात्तिक । नेकपा (एमाले) बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य पदका उमेदवार हिराबहादुर केसीले मुलुकवासीको ढाड सेक्ने गरी बढेको मूल्यवृद्धि नियन्त्रणका लागि एमालेको जित आवश्यक रहेको बताएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा १ का उमेदवार केसीले चुनावी अभियानका क्रममा रेशका विभिन्न टोल भेलाहरुलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
एमालेको नेतृत्वमा रहेको सरकारलाई परमादेशको आडमा विस्थापित गरेर गठन भएको वर्तमान गठबन्धन सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उनले बताए ।
“म युवा विद्यार्थीलगायत आम जनसमुदायलाई अपिल गर्न चाहान्छु– डेढ वर्ष पहिला तपाईंको भान्सामा चाहिने वस्तुको मूल्य, तपाईंको बाइकमा हाल्ने पेट्रोल र डिजेलको मूल्यलगायत उपभोग्य वस्तुमा भएको मूल्य र वर्तमान सरकार गठन पछि हाल रहेको मूल्यको तुलना गरेर हेर्नुहोस्,” केसीले भने, “मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने सरकारलाई विस्थापित गर्नका लागि एमालेको जित आवश्यक छ ।”
वर्तमान सरकारबाट राष्ट्रियताको संरक्षण हुन नसक्ने चर्चा गर्दै केसीले नागरिकता विधेयकमार्फत् विदेशीलाई नेपाली नागरिक बनाएर मुलुकको राष्ट्रियता कमजोर बनाउन वर्तमान सरकार लागि परेकोको आरोप लगाए ।
मुलुकको अर्थतन्त्र अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ, बैकमा पैसा छैन, सहकारीमा पैसा छैन, वित्तीय संस्थामा पैसा छैन, जतासुकै पैसाको हाहाकार बनाएर मुलुकलाई वर्वादीको दिसामा धकेल्ने वर्तमान सरकारको विकल्पका लागि पनि एमाले सरकार आवश्यक रहेको केसीको भनाइ छ ।
अर्थमन्त्रीले बजेट भाषण गर्ने अघिल्लो राति विचौलियालाई अर्थमन्त्रालयमा ल्याएर ७ सयभन्दा बढी करका दर हेरफेर गरेको भन्दै केसीले मुलुकको अर्थतन्त्र केही घरानाहरुका लागि पोस्ने वर्तमान सरकारको विकल्प एमाले सरकार आवश्यक रहेको बताए ।
युवा विद्यार्थीलगायत शिक्षित जनसमुदायले यो भन्दा पहिलाको सरकार र वर्तमान सरकारले राज्य सञ्चालनका क्रममा गरेका कामको विश्लेषण, जनताका दैनिक जनजीविकाका सवाललाई लिएर समीक्षा गर्न सुझाव दिँदै केसीले आगामी चुनाव कसले जित्छ र कसले हार्छ भन्ने भन्दा पनि मुलुकको भलो कसले गर्छ भन्ने भएकाले गठबन्धनलाई परास्त गर्नका लागि एमाले उमेदवारलाई जिताउन आह्वनन गरे ।
टोल भेलामा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्रदेश सभाका समानुपातिक उमेदवार कृष्ण पाठकले मुलुकमा बलियो राष्ट्रिय शक्तिको विकासका लागि एमालेलाई बहुमत सहितको ठुलो दल बनाउनु पर्नेमा जोड दिए ।
एमालेले विकास निर्माण लगायत समग्र मुलुकको हितका लागि अगाडि सारेका र विगतमा गरेका कामको ययार्थ विश्लेषण गर्नु पर्नेमा जोड दिँदै मुलुक निर्माणको योजना, दृष्टिकोण र लक्ष्य एमालेसँग मात्रै रहेको दाबी गरे ।