दाङको तीन निर्वाचन क्षेत्रमा ८ जना महिलाबीच प्रतिस्पर्धा

29

काठमाडौँ, २४ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका तीन क्षेत्रमा ८ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दाङ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुन् । २५ वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत भइन् । उनले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटबाट रूक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिएकी छन् । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन् । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र नम्बर १ मा पर्दछ ।

क्षेत्र नम्बर १ (क)मा ७० हजार २६७ र (ख)मा ६४ हजार ४६६ मतदाता छन् । क्षेत्र नम्बर (क)मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नम्बर १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी छन् । शमाले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाएकी छन् ।

नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ २ महिला प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ (क) मा ६३ हजार ३२२ तथा (ख)मा ७० हजार ४२६ मतदाता छन् । क्षेत्र नम्बर २ (क) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा (ख)मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारूढ बठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरि चुनावी मैदानमा छन् । दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै हुन् । क्षेत्र नम्बर ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नम्बर ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । ४ लाख १९ हजार ९२४ मतदाता छन् । १५३ मतदानस्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...