कसैले पनि भोकै र नांगै बस्नु नपरोस् : अमृत गुरूङ

67

काठमाडौँ, १८ कात्तिक । नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरूङले कोही पनि मान्छे भोकै र नांगै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरूरी रहेको बताएका छन् ।

मानवीय सेवामा समर्पित मावनसेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आगामी मंसिर १६ गतेदेखि मुलुकका प्रमुख १० सहरमा सुरू गर्न लागेको महिनाव्यापी सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को पूर्वसन्ध्यामा आश्रमको काठमाडौँ शाखा रानीवनमा आयोजित एक समारोहमा वरिष्ठ गायक गुरूङले मानवीय सेवाका लागि आफू सम्पर्कसेतु भएर काम गर्न तयार रहेको बताए ।

“हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नांगै हिँड्न नपरोस्,” उनले भने । मानवसेवा आश्रममा संरक्षित बेसहाराहरूको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसकेको जिकिर गरे ।

उक्त समारोहमा मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म मुलुकका १० सहरमा हुने कन्सर्टको संयोजन गर्ने नेपालयका कार्यक्रम संयोजक अर्पण शर्माले मानवसेवा आश्रमको अभियानमा आफ्नो साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा.गोविन्द टण्डनले सांगीतिक माध्यमबाट विभिन्न सामाजिक अभियानमा लागेका वरिष्ठ गायक गुरूङले मानवसेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकोमा खुसी व्यक्त गरे ।

मावनसेवा आश्रमले मानवताका लागि अभियान चलाउँदै आएको र यो सांगीतिक कार्यक्रमले मानवता प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले राज्यले गर्नुपर्ने काम आफ्नो कर्तव्य सम्झिएर आश्रमले बसहाराहरूलाई उद्धार गरी संरक्षण गर्दै आएको जानकारी गराउँदै कोही पनि मानिस सडकमा आश्रित हुन नपरोस् भनेर अभियान अघि बढाउँदै आएको जानकारी दिए ।

मानवसेवा आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।

उक्त नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मंसिर १६ गतेदेखि सुरू भइ काठमाडौँमा पुस १६ गते सम्पन्न हुने छ । मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रंगशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...