काठमाडौँ, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले बुधबार आयोजना गरेको ‘वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफल’मा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताए । “जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ”, उनले भने ।
नगरप्रमुख साहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । नगरप्रमुख साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्न लागेको जानकारी दिइन् । महानगरपालिकाको न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले महिला सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने बताइन् ।
“महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अगाडि बढाएका छौँ, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो”, उनले भनिन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।