साली नदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउनेछु : कुन्ती पोख्रेल

101

काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले यस क्षेत्रको विकास र समृद्धिका लागि संसद्‌मा आफ्नो उपस्थिति हुनु पर्ने बताएकी छन् ।

मंगलबार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा आयोजित मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् । पोख्रेलले यस क्षेत्रमा पटक–पटक बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारले चुनाव जित्ने र पदमा पुगिसकेपछि क्षेत्रको विकासभन्दा पनि आफू र आफ्ना आसेपासेका स्वार्थमा केन्द्रित हुने गरेकाले विकासका दृष्टिले पछि परेको बताएकी छन् ।

उनले सिंहदबारको नजिक रहेर पनि यस क्षेत्र कर्णालीको दूदर्शामा गुज्रिएको भन्दै अब यस क्षेत्रको विकासका लागि ‘पर्यटक’ उम्मेदवारलाई नभई आफूलाई मत दिन आग्रह गरिन् । पोख्रेलले विकास भन्ने बित्तिकै ‘बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता जनताका दैनिक जीवनसँग जोडिएका विषय र ठाउँको महत्वअनुसार बुझेर काम गर्ने व्यक्तिको आवश्यक हुने भएकाले पनि स्थानीयलाई जिताउन जरुरी रहेको बताइन् ।

उनले यस क्षेत्रको ग्रामीण सडकहरु खाल्डाखुल्डी र धुलो, हिलो र साँघरा भएकाले कृषिकहरुले उत्पादन गरेका तरकारी, फलफूल, दुधलगायत खाद्य सामग्री बजार ल्याउन सास्ती खेप्नुपरेको बताइन् ।

कार्यक्रमा उनले सामुदायिक विद्यालयहरुले भरपर्दो र गुणस्तरीय शिक्षा दिन नसक्दा जनताको विश्वास गुम्दै गएको, त्यसको फाइदा निजी विद्यालयहरुले उठाउँदा अभिभावकहरु मारमा परेको बताइन् ।

स्वास्थ्य चौकीहरुमा उपयुक्त चिकित्सक र औषधि अभाव भएकाले प्रत्येक स्वास्थ्य चौकीमा दक्ष चिकित्सक र सुविधा सम्पन्न उपचार पद्धति हुनु पर्नेमा जोड दिइन् । त्यस्तै, धारा जडान भए पनि समयमा पानी नआउँदा उपभोक्ता मारमा परेकाले समान वितारणमा ध्यान दिनुपर्ने बताइन् ।

पोख्रेलले यस क्षेत्रका मठमन्दिर, गुठी र ऐतिहासिक पुरातत्विक महत्व बोकेका धार्मिकस्थल ओझेलमा पर्दै गएकाले त्यसको सम्वर्द्धन, संरक्षण र पुनर्संरचनाका लागि आफूले संसद्मा प्रतिनिधित्व गर्नु पर्ने जनाइन् ।

उनले देशका बहुसंख्यक जनता हिन्दु धर्मावलम्बी भएकाले तिनको सम्बोधनका लागि आफूले राष्ट्रिय धर्मको रुपमा हिन्दु धर्म हुनु पर्नेमा जोड दिएको बताइन् ।

नेपालीहरुले महिना दिनसम्म कथा वाचन गर्ने श्रीस्वस्थानी ब्रत कथामा महत्व उल्लेख गरिएको साली नदी दिन प्रतिदिन कुरुप बन्दै गएर लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणका लागि नीति निर्माण गर्न संसद्‌मा आफ्नो उपस्थिति आवश्यक रहेको दाबी गरिन् । ‘यस क्षेत्रबाट मैले संसद्‌मा प्रतिनिधित्व गरेँ भने शंखरापुरको साली नदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउने छु,’ पोख्रेलले भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...