दमक, १४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् ।
“देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ,” झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरे ।
उनले मंसिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को सरकार बन्ने उनको दाबी थियो ।
उनले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।