जनताको समस्या पहिचान र समाधानका उपाय बुझ्दै साँखुवासीबीच कुन्ती पोख्रेल

56

काठमाडौँ, १४ कात्तिक । धार्मिक नगरी शंखरापुर नगरपालिकाको साँखुबजार पुग्दा कुन्तीदेवी पोख्रेलका सहयोगीहरु स्थानीयका घरदैलोबीच चुनावी अभियानमा जुटिरहेका देखिन्थे । काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी पोख्रेल ‘हलो’ चिन्ह देखाउँदै स्थानीयसँग भोट मागिरहेकी थिइन् ।

समाज सेवामार्फत् नेपाली महिलाको क्षेत्रमा लामो समय योगदान गर्दै आएकी पोख्रेल पटक–पटक चुनाव जितेर काम नगर्ने र क्षेत्र परिवर्तन गर्दै हिँड्ने उम्मेदवारलाई बिदाइ गर्ने भन्दै चुनावी मैदानमा उत्रिएकी छन् ।

चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेतालाई विस्थापित गर्नु पर्ने दाबीसहित मतदाताबीच पुगेकी उनले यस पटक आफूलाई सेवा गर्ने मौका दिन आग्रह गरिरहेकी थिइन् ।

“निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव जितेर सत्तामा पुगेकाहरुको ढंग हेरियो, उनीहरुले यस क्षेत्रमा जनताको चाहनाअनुसार काम गर्न सकेनन् । अब मत परिवर्तन गरौँ, नयाँ पुस्तालाई एक पटक मौका दिएर हेरौँ भन्ने आम मतदाताको मनसाय मैले बुझेकी छु,” पोख्रेलले भनिन् । आफूले जिते पनि हारे पनि यस क्षेत्रको विकास निर्माण र जनताको सुख दुःखमा सधैँ हातेमालो गरिरहने उनको जिकिर छ ।

“राजनीतिभनेको पेशा होइन, समाज सेवा हो । समाज सेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर सक्रिय रहने छु,” पोख्रेलले भनिन्, “राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति निरतर आवाज उठाइ रहनेछु । युवा पुस्ताको प्रतिनिधित्वका लागि लडिरहने छु । देशमाव्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्टघातविरुद्ध सडकदेखि सदनसम्मआवाज उठान लागिपर्ने छु ।”

चुनावका बेला मीठामीठा सपना देखाउने जितिसकेपछि बिर्सिने प्रवृत्तिले यो क्षेत्र ओझेलमा परेको स्मरण गर्दै नागरिकहरुले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गरिन् । “पहिलाको तुलनामा अहिले मतदाता सचेत हुनुहुन्छ, भोट दिँदा विवेक प्रयोग गर्नु हुनेछ,” पोख्रेल भनिन्, ‘सत्ताको आडमा आउने उम्मेदवारले जति प्रभावित पार्न खोजे पनि जनताले विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क छु ।” उनले यस क्षेत्रको दिगो विकास र युवा पुस्ताको भविष्यको निम्ति आफू राजनीतिमा आएको बताइन् ।

“राजनीतिमा त्याग, इमान्दारिता र सेवाभाव हुनुपर्छ, त्यो म गरेर देखाउने छु । यो देशको राजनीतिक वितृष्णाले युवा पुस्ताको आशा मारिसकेको छ, त्यसरी आशा मरेर विदेशिन बाध्य युवा शक्तिलाई स्वदेशमै स्वरोजगारयुक्त र उद्यमी बनाउन म राजनीतिमा आएकी हुँ,’पोख्रेलले भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...