‘समृद्धिका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन्छौँ’

64

बागलुङ, १४ कात्तिक । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेकपा (एमाले)का उमेदवार डा.सूर्य पाठकले समृद्धिका लागि पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन आवश्यक रहेको बताएका छन् ।

काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीय स्थल बेलढुंगाबाट प्रतिनिधिसभाका उमेदवार पाठक र क्षेत्र नम्बर १ प्रदेसभा ‘क’का उमेदवार हिराबहादुर केसीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता जनाए ।

चुनावी अभियानका क्रममा आइतबार धम्जा पुगेका उमेदवारद्वयले पर्यटकीय स्थल बेलढुंगामा पुगेर देशको समृद्धिका लागि पर्यटनको विकास आवश्यक रहेको बताए । पर्यटन प्रवर्द्धनका लागि आफुहरुले योजनावद्ध रुपमा काम गर्ने उनीहरुको प्रतिवद्धता छ ।

‘नेपाल पर्यटनको प्रशस्त संभावना भएको देश हो, बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र वडा कार्यालयहरुसंग समन्वय गरेर काम गर्ने वातावरण बनाउँछौँ’ उनीहरुले भने ।

२६०० मिटर उचाइमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । बेलढुंगाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ हिम श्रृखलाहरु देख्न सकिन्छ । एमाले उमेदवारहरुसहितको टोलीले आइतबार बेलढुंगाको अवलोकन गरेको थियो ।

बेलढुंगा सामुदायिक होमस्टे र स्थानीय वासिन्दाको व्यवस्थापनमा पर्यटनको केन्द्र बन्दै गइरहेको बेलढुंगाको थप विकासका लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता पनि उमेदवारद्वयले जनाए ।

एमाले उमेदवारहरुसहितको टोलीले आइतबार धम्जाका द्वार, माझकटेरा, सायकोट, ओखले, असोज, देउराली, धम्जा लगायत स्थानमा भेटघाटसहित घरदैलो गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...