नयाँ टिमसहित येनान पुगे सी चिनफिङ

24

काठमाडौँ, ११ कात्तिक । तेस्रोपटक चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन भएलगत्तै सी चिनफिङ आफ्नो टिम लिएर क्रान्तिकालीन किल्ला येनान फर्किएका छन् ।

आइतबार तेस्रोपटकका लागि सिपिसीको शक्तिशाली महासचिव एवम् केन्द्रीय सैन्य आयोगको अध्यक्ष चयन भएका सीले आगामी मार्चदेखि राष्ट्रपतिको तेस्रो कार्यकाल सुरू गर्दैछन् ।

शनिबार सम्पन्न सिपिसीको २०औँ महाधिवेशनले पार्टीको विधानमै सी विचारधारा कायम गर्दै उनलाई शक्तिशाली सर्वोच्च नेता बनाएको छ । साथै सीले पार्टीको शक्तिशाली स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा निकै बलियो गरी आफ्नो पकड बनाएको मानिएको छ ।

चीनमा माओपछिकै शक्तिशाली रूपमा सीको उदय भएको ठानिएका बेला बिहीबार उनी सात सदस्यीय स्थायी समितिको टिम लिएर सान्सी प्रान्तको येनान पुगेका हुन् ।

सीको साथमा स्थायी समितिका सदस्यहरू ली चियाङ, झाओ लेजी, वाङ हुनिङ, चाइ छी, दिङ सुएङ र ली सी छन् ।

चीनमा युद्धका बेला माओले बासस्थान बनाएको र सिपिसीको ७औँ महाधिवेशनस्थल येनान अहिले क्रान्तिकारी स्मारकस्थलका रूपमा चिनिन्छ । सी माओप्रति श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ फर्किएका हुन् । येनान माओकालीन युद्धको एउटा त्यस्तो आधार क्षेत्र हो, जहाँ सामान्यतः सिपिसीको नेतृत्व तहबाट अप्ठेरो परिस्थितिका बेला भ्रमण हुने गरेको छ ।

सीले आर्थिक सुधारका पक्षधर नेताहरूलाई किनारा लगाएर माओवादी कट्टर लाइन समातेको चर्चा भइरहेका बेला येनान पुगेर त्यसलाई पुष्टि पनि गर्न खोजेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...