काठमाडौँ, ८ कात्तिक । अबको पाँच वर्ष चीनको शासन चलाउने नेताहरूको नाम आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिसँगै सार्वजनिक भयो । तर, एउटा प्रश्न भने अझै अनुत्तरित छ सी चिनफिङको उत्तराधिकारी को होला ?
पार्टी महासचिवका रूपमा तेस्रो कार्यकाल सुरू गरेका सीले आफ्नो पहिलो कार्यकालको अन्त्यमा उत्तराधिकारी तोकेका थिएनन् ।
त्यसविपरीत २००७ मा जबा सीलाई स्थायी समितिमा बढुवा गरिएको थियो, तब पाँच वर्षपछि हु चिन्ताओको उत्तराधिकारी उनी नै बन्ने स्पष्टप्रायः थियो । हु पनि महासचिव बन्नुअघि दुई कार्यकाल स्थायी समिति सदस्य रहिसकेका थिए । तर, यसपटक सीले आफ्नो उत्तराधिकारी तोक्ने काम गरेका छैनन् ।
‘आधिकारिक रूपमा ठोकुवा गर्न नसकिए पनि स्थायी समितिको सबैभन्दा कान्छो सदस्यलाई सम्भावित उत्तराधिकारीका रूपमा लिइने गरिन्छ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरस्थित इस्ट एसियन इन्स्टिच्युटका सहायक निर्देशक चेन काङ भन्छन् ।
‘त्यतिबेला हुले पाँच वर्षपछि अवकाश लिनेछन् भन्ने सबैलाई थाहा थियो । तर, अहिले हामीलाई थाहा छ, सीले लामो समय शासन चलाउनेछन् । दृश्य पूरै फरक छ । तपाईं स्थायी समितिको कुनै एक सदस्यलाई सम्भावित उत्तराधिकारी मान्न सक्नुहुन्छ, तर त्यो आधिकारिक हुँदैन,’ उनले भने ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीपछिको वरीयतामा अहिले ली चियाङ (६३) चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।
शक्ति बाँडफाँडलाई सीमित तुल्याउन र सीको शक्तिलाई कमजोर हुन नदिन उत्तराधिकारी नतोक्ने रणनीति अपनाइएको हुनसक्ने विश्लेषकहरू बताउँछन् । तर, यो अझै लामो समय शासन सीको महत्वकांक्षाको संकेत पनि हुनसक्छ ।
बोस्टन युनिभर्सिटीको पार्दी स्कुलस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा राजनीतिशास्त्र विषयका प्राध्यापक जोसेफ फ्युस्मिथ भन्छन्, ‘सीले पक्का पनि चार कार्यकाल ताकेका छन् ।’
चीनमा नेतृत्व परिवर्तनको स्पष्ट नियम छैन । बरू अलिखित मान्यताहरूका आधारमा यो काम हुँदै आएको छ ।
सन् २००२ मा सा माथि, आठ तल अर्थात् ६७ वर्ष पुगेका स्थायी समिति सदस्य बढुवा हुने र ६८ पुगेकाहरूले अवकाश लिने प्रथा लागु गरिएको थियो । सीले ६९ वर्षको उमेरमा आफ्नो तेस्रो कार्यकाल सुरू गर्दै छन् । अर्को मान्यता हो, भविष्यमा सर्वोच्च नेता बन्ने व्यक्तिले महासचिव चुनिनुअघि स्थायी समितिमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्छ । त्यस्तै, महासचिव हु चित्ताओ र चियाङ चेमिनले जस्तै दुई कार्यकाल मात्र पदमा बस्ने ।
२०१२ मा पार्टी महासचिव बन्नुअघि सीले पनि स्थायी समितिमा पाँच वर्ष बिताएका थिए ।
शीर्ष पदका लागि उम्मेदवार बन्न पनि उनीहरूले कम्तीमा एउटा प्रान्त चलाएको हुनुपर्छ र बेइजिङमा एउटा महत्वपूर्ण पदमा बसेको हुनुपर्छ । चियाङ, हु र सी तीनैजना यही बाटोबाट नेतृत्वमा पुगेका थिए । यस हिसाबले नयाँ स्थायी समितिमा रहेका सबैभन्दा कान्छा सदस्य तिङ सुइसियाङको योग्यता सबैभन्दा कमजोर देखिन्छ । उनी कहिल्यै पनि पार्टीको प्रान्तीय सचिव बनेका छैनन् । उनी आगामी मार्चमा कार्यकारी उपप्रधानमन्त्री चुनिन सक्छन् ।
यतिखेर सीको उत्तराधिकारीका रूपमा आफूलाई चिनाउने जोखिम कसैले पनि मोल्न नचाहेकाले राजनीतिशास्त्रीहरूको भनाइ छ ।
‘निश्चय नै सीको सत्तालाई चुनौती दिन कोही पनि चाहँदैन । सायद सी चौथो कार्यकाल र त्यसपछि पनि पदमा रहन चाहलान्,’ युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोमा चिनियाँ राजनीतिका विज्ञ भिक्टर सिंह भन्छन्, ‘हामीले के बिर्सिनु हुँदैन भने उत्तराधिकारीका रूपमा चिनिन पार्टीका कोही पनि चाहँदैन । माओका सुरूवाती तीन उत्तराधिकारीहरू भयानक रूपले मरे र वाङ होङवेन (ग्याङ अफ फोरका सदस्य)ले जिन्दगी जेलमा गुजार्नुपर्यो । त्यस्तो नतिजा कोही पनि चाहँदैन ।’
माओको मृत्युपछि छाएको अनिश्चितता फेरि आउन नआओस् भनेरै नियमित पार्टी महाधिवेशन गर्न थालियो हो । माओका उत्तराधिकारी हुवा कुओफेङलाई तेङ स्यायोपिङ र उनका समर्थकहरूले विस्थापित गरेका थिए । तेङ पार्टीका सर्वेसर्वा थिए । तर, नामका लागि हु याओपाङ पार्टी प्रमुख थिए । तर, विद्यार्थी आनदोलनलाई ठिकसँग सम्हाल्न नसकेपछि उनलाई १९८६ मा हटाइयो । उनको ठाउँमा सुधारवादी चाओ चियाङ नियुक्त भए । तर, १९८९ मा तियानमेनमा भएको प्रदर्शनलाई समर्थन गरेपछि उनलाई हटाइयो र चियाङ चेमिन पदमा पुगे ।
उत्तराधिकारी नतोकिँदा तत्काल कुनै असर नपरे पनि भविष्यमा त्यसले अनिश्चितता पैदा गर्ने सिंह बताउँछन् ।
‘अहिलेका लागि त्यसको असर केही हुँदैन किनभने पार्टीको प्रमुख को छ भन्ने चीनका हरेकलाई थाहा छ, तर सी बुढो हुँदै जाँदा र खासगरी उनी बिरामी भए अनिश्चितता बढ्न पुग्छ,’ सिंहले भने । एससीएमपी