सत्तारूढ तीन नेताको अपिल– प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन, निर्वाचनमा बहुमत दिएर जिताउनु

112

काठमाडौँ, १ कात्तिक । सत्तारूढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्न गठबन्धनको आवश्यकतालाई मनन गर्न र आउँदो चुनावमा गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् ।

गठबन्धनका तर्फबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त अपिल जारी गरेका हुन् ।

अपिलमा आउँदो चुनावमा नेपालको संविधानले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिबद्ध रहेको उल्लेख छ ।

उनीहरूले अझै पनि प्रतिगमनको खतरा रहेको पनि जिकिर गरेका छन् । तीन नेताले गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको पनि जिकिर गरेका छन् ।

तीन नेताले आफूहरूका साझा प्रतिबद्धता, नीति र योजनाहरूको विस्तारित रूप पार्टीगत घोषणापत्रहरूमा आउने पनि बताएका छन् ।

“केही विषयहरूमा फरक विचार र दृष्टिकोणहरूका कारण नै अलग–अलग पार्टीहरूको अस्तित्व रहेको हो । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो,” उनीहरूले भनेका छन्, “आ–आफ्नो वैचारिक पहिचानसहित बृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी हाम्रा साझा दृष्टिकोण आएका छन् । त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्नु भएकै छ ।”

Share This:
सम्बन्धित खबर
Loading...