काठमाडौँ, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको दाबी गरेका छन् । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको जिकिर गरे ।
सत्तारूढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएको सत्तारूढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।
“गठन्धनबारे प्रश्न उठेको छ । विपक्ष एमालेले बनाएको गठबन्धन अपवित्र हो । हाम्रो सत्तारूढ गठबन्धन चाहिँ पवित्र हो । हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । दुई–दुई पटक संविधान कुल्चने काम भएको थियो । देशलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ, देशको संविधान जोगायौँ, लोकतन्त्र पनि जोगायौँ । यसरी पवित्र उद्देश्यका साथ हामीले गठबन्धन गर्यौँ,” उनले भने ।
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको तर्फबाट आउँदो चुनावका लागि साझा प्रतिबद्धता पत्र कात्तिक २ गते सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताए ।