काठमाडौँ, १ कात्तिक । भारतका लागि चिनियाँ राजदूत सुन वेइडोङले यसै साता भुटानको ४ दिने भ्रमण गरेका छन् । चिनियाँ राजदूत सुनले कुटनीतिक सम्बन्ध नभएको छिमेकी राष्ट्र भुटानमा गरेको भ्रमणलाई भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।
भ्रमणको क्रममा चिनियाँ राजदूत सुनले भुटानी राजा जिग्मे खेशर वाङचुक, प्रधानमन्त्री लोटे छिरिङ, विदेशमन्त्री टेन्डी दोर्जीसहित अन्य अधिकारीहरूसँग छुट्टाछुट्टै भेटेका थिए ।
दिल्लीस्थित चिनियाँ दूतावासद्वारा शनिबार राति जारी गरिएको विज्ञप्तिमा भ्रमणको क्रममा दुवै देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । भ्रमणमा चिनियाँ राजदूत सुनले भुटानसँग सीमा विवाद समाधान गर्ने विषयमा भएको सम्झौता कार्यान्वयनका लागि संयुक्त प्रयास चाहेको बताएका थिए ।
उनले मित्रवत् सम्बन्ध, ‘विन विन’ सहकार्यको विस्तार, सीमा वार्ता अघि बढाउन चाहेको बताएका थिए । ‘चीन–भुटान सम्बन्धमा दुवै देश तथा जनतालाई फाइदा पुग्ने विषयमा जोड दिएको’ विज्ञप्तिमा उल्लेख छ ।
राजदूत सुनले भुटानले एक चीन नीतिमा देखाएको दृढता र कोभिड–१९ महामारीको चुनौती सामना गर्नका लागि भएको संयुक्त प्रयासको प्रशंसा गरेका थिए ।
“चीनले चीन–भुटान सम्बन्ध तथा चाहनालाई निकै महत्त्व दिएको तथा स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताका साथै भुटानले आफ्नो राष्ट्रिय अवस्थाअनुसार निर्धारण गर्ने विकासको मार्गलाई चीनले सधैँ सम्मान गर्ने बताएका छन्,” विज्ञप्तिमा भनिएको छ ।
प्रत्युत्तरमा भुटानले एक चीन नीतिप्रति निरन्तर रूपमा दृढ रहेको, सीमा विवादको विषयलाई मित्रवत् परामर्शबाट समाधान गर्न र चीनसँग सहकार्य विकास गर्ने कुरालाई अघि बढाउन चाहेको भुटानी नेताहरूले बताएको विज्ञप्तिमा उल्लेख छ ।
चीन र भुटानबीच सीमा विवाद रहँदै आएको छ । चीन–भुटानबीच गतवर्ष उक्त समस्या समाधानका लागि तीन चरणको कार्यक्रम गर्ने विषयमा सम्झौतासमेत भएको थियो । भुटान र चीनबीच सन् १९८४ देखि नै सीमा विवाद समाधान गर्ने विषयमा वार्ता हुँदै आएको छ ।
सन् २०१७ मा भुटानसँगको विवादित भू–भाग दोक्लाममा चीनले पूर्वाधार बनाउन खोजेपछि भारतीय सैनिक उक्त कार्य रोक्न पुगेका थिए । ७३ दिनसम्म भारत–चीन सैनिकहरू आमनेसामने भएका थिए । त्यसक्रममा बेलाबेलामा दुवै देशका सैनिकहरूबीच धक्कामुक्की चल्ने गरेको थियो ।
४ सय किलोमिटर लामो सीमा रहेको भुटान र चीनबीच औपचारिक कुटनीतिक सम्बन्ध छैन । भुटानको वैदेशिक नीति भारतकै नीतिबाट निर्देशित हुने गरेको छ । भुटानले राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य देशसँग कुटनीति सम्बन्ध नराख्ने नीति लिएको छ । सुरक्षा परिषद्को स्थायी सदस्यमा चीनसहित अमेरिका, फ्रान्स, बेलायत र रूस रहेका छन् ।