काठमाडौँ, २४ असोज । पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारविरूद्ध निरन्तर बोल्दै आएका नेकपा (एमाले)का नेता रामवीर मानन्धरले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएनन् । आफ्नो आलोचना गर्दै आएका नेताहरूविरूद्ध ओलीले एक–एक गर्दै प्रहार गर्दा भीम रावल, घनश्याम भुसालहरूकै लाइनमा रामवीर पनि परेका हुन् ।
आफ्नो आलोचना गरेकै कारण ओलीले निरन्तर काठमाडौँ–७ बाट निर्वाचन जित्दै आएका रामवीरको टिकट खोसे । तर, रामवीर ‘बागी’को रूपमा एक्लै चुनावी मैदानमा उत्रेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्तापछि रामवीरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
काठमाडौँ–७ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र श्रेष्ठलाई समर्थन गरेको छ । सत्तारूढ गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेका जसपाले काठमाडौँ–७ पाएको छ । यता, सत्तारूढ गठबन्धनले भने नेपाल समाजवादी पार्टीका नेता मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । मनुषी गठबन्धनका उम्मेदवार हुन् ।
के होला परिणाम ?
काठमाडौँ–७ जसपाका लागि राम्रो ठाउँ मानिन्न । तर, पनि तालमेलका क्रममा राजेन्द्रलाई व्यवस्थापन गर्न जसपाले एमालेसँग काठमाडौँ–७ मागेको हो । यो क्षेत्र एमालेको धेरै राम्रो क्षेत्र मानिन्छ । जनतासँग निरन्तर सम्बन्ध रहेर काम गरेका एमाले नेता हुन्, रामवीर । तर, यसपटक रामवीर बागी उम्मेदवार बनेका छन् ।
रामवीरको उपस्थितिमा एमालेको भोट जसपालाई नजाने सम्भावना रहन्छ । रामवीरको उम्मेदवारीले एमालेकै भोट काटिने सम्भावना रहन्छ । उस्तो अवस्थामा राजेन्द्रलाई जित्न निकै मुस्किल देखिन्छ । रामवीरले एमालेको भोट काट्दा राजेन्द्र निर्वाचित नहुने सम्भावना रहन्छ भने गठबन्धनका उम्मेदवार मनुषी विजयी हुने सम्भावना रहेको विश्लेषण हुन थालेको हो ।
रामवीरले उम्मेदवारी फिर्ता लेलान् ?
रामवीरको गतिविधि हेर्दा पार्टीले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि पछि हट्ने अवस्था देखिन्न । स्थानीय तह निर्वाचनमा पनि रामवीर पार्टीको निर्णयविरूद्ध लागेका थिए । पार्टीका उम्मेदवार केशव स्थापितविरूद्ध लागेका रामवीर पार्टीले कारबाही नै गरे पनि पछि हट्ने अवस्था देखिन्न ।