लिस्बन, २३ असोज । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ ।
विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–१, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए ।
सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पुग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।
सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ ।
परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक संकलन सुरु गरिएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।