सिट बाँडफाँडमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

85

काठमाडौँ, ८ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ ।

बैठक शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।

यसअघि शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन । बालुवाटारमा बसेको बैठकमा दलहरू पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो ।

शुक्रबार बिहान ११ बजे र दिउँसो २ बजे दुई पटक अलग अलग छलफलपछि गठबन्धनको बैठक बसेको थियो । साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए ।

सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरूले शनिबार फेरि बैठक बस्न बोलाएका हुन् ।

गठबन्धनका नेताहरूले प्रतिनिधिसभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन् । प्रदेशसभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरूको छ ।

Share This:
सम्बन्धित खबर
Loading...