राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संकेत !

129

काठमाडौँ, ४ असोज । संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् । उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १४ दिन बितिसक्ता पनि प्रमाणीकरणा नगरेपछि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भए पनि विधेयक प्रमाणीकरण हुने कि नहुने भन्ने निश्चित नभएको बालुवाटार स्रोतले बतायो ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरू हुने बताए ।

सत्तारूढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर, नेकपा (एमाले)ले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारण राख्दै आएका छन् ।

तर, संवैधानिक कानुनका जानकारहरूले राष्ट्रपतिसँग कुनै पनि विकल्प नभएकाले मंगलबार नै प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा.विपिन अधिकारीले संवैधानिक हिसावले आएको विधेयक प्रमाणीकरण गरी पठाउनुबाहेक अरू विकल्प नभएको बताए । पहिलोपटक संविधानले पुनर्विचार गर्न फर्काउन सक्ने अधिकार दिएको र राष्ट्रपतिले त्यसलाई प्रयोग गरेकाले अब प्रमाणीकरण गर्नुपर्ने र त्यसको जस÷अपसज अब संसद्ले नै बोक्ने उनको तर्क छ ।

Share This:
सम्बन्धित खबर
Loading...