काठमाडौँ, ३० भदौ । स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन् । आइतबार भएको चुनावी उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन् ।
उनको गठबन्धनले १७३ सिट जित्दा दक्षिणपन्थी गठबन्धनले १७६ सिट हात पारेको छ ।
एन्डरसन स्वीडेनको पहिलो महिला प्रधानमन्त्री हुन् । उनको सोसल डेमोक्रेट्स पार्टीले २०१४ यता शासन चलाउँदै आएको थियो । १९३० को दशकदेखि नै राजनीतिमा यो पार्टी हाबी छ । तर, पछिल्लो समय अति दक्षिणपन्थी पार्टीहरूको लोकप्रियता बढ्दो छ ।
दक्षिणपन्थी गठबन्धनमा स्वीडेन डेमोक्रेट्स, मोडरेट पार्टी, क्रिस्चियन डेमोक्रेट्स र लिबरल्स छन् । जसमध्ये कुनै समय अन्य राजनीतिक दलले घृणापूर्वक हेर्ने स्वीडेन डेमोक्रेट्स पार्टीले यसपटक २० प्रतिशत मत पाएको छ । यो पार्टी १९८० को दशकको अन्त्यमा नवनाजी आन्दोलनबाट जन्मेको थियो ।
मोडरेट पार्टीका उल्फ क्रिस्टेरसन नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ ।