माछापोखरीको सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो
काठमाडाैँ, २९ भदाै । काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाएको छ ।
काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र साह (बालेन) निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिए । सो क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा उक्त ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।
यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।
काठमाडौँ–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्साविपरीतको संरचना हटाइएको जानकारी दिए । कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो ।
महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, नयाँ बसपार्क क्षेत्रमा नक्साविपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।