काठमाडौँ, २९ भदौ । काठमाडौँ उपत्यकाका सडक आज पनि प्रभावित हुने भएको छ । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस स्थायी समिति अध्यक्ष एवम् सभामुख ली चान्सुको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो ।
बिहान ९ बजेदेखि नै उपत्यकामा सवारी प्रभावित हुने छ । बिहान ९ बजे चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनर्निमाण भएका संरचनाको अवलोकन भ्रमण गर्ने छन् । यस्तै लीले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन् ।
उनी भक्तपुरस्थित दरबार क्षेत्रमा बिहान जाने भएकाले बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविद्यालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालयदेखि भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
यस्तै, आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटल, पानीपोखरी र शीतल निवाससम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
भिभिआइपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै महानगरिय ट्राफिक महाशाखाले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।