काठमाडौँ, २७ भदौ । पुनर्जागरण पार्टी नेपालका महामन्त्री रविकिरण हमालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेख्दै छन् ।
दिनहुँ विभिन्न विषयका विज्ञसँग उनी छलफल गरिरहेका छन् । सम्बन्धित विषयका विज्ञ, युवा र आम सर्वसाधारणसँग पनि उनी भेटघाट गरिरहेका छन् ।
पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगिकार गरेको छ । किरणले मुख्यतः कुटनीति, कर्मचारी प्रशासन, न्यायलय, सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने विषयमा केन्द्रित भएर घोषणापत्र लेख्दै छन् ।
पार्टीले संविधानलाई संशोधन गर्नुपर्ने माग सार्दै आएको थियो । संविधानमा सच्याउनुपर्ने विषयहरूका बारेमा पनि स्पष्ट अवधारणा ल्याउने महामन्त्री किरणले बताए ।
पुनर्जागरण पार्टी ४० वर्ष मुनिका युवाहरूको पार्टी हो । यही वर्ष साउन १२ गतेमात्र निर्वाचन आयोगमा दर्ता भएको थियो । चुनाव चिन्ह बलिरहेको मैनबत्ती लिएर पुनर्जागरण निर्वाचनमा भाग लिँदै छ ।
घोषणापत्र लेख्दै गर्दा किरणले सल्लाह र सुझाव पनि मागेका छन् ।