काठमाडौँ, २४ भदौ । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो । “आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्ण निधन भयो,” प्यालेसले भनेको छ ।
बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो । रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।
रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमको भनाइ छ । त्यस्तै, राष्ट्रिय शोकको अवधि पनि सुरू भएको छ । करिब १० दिनमा उनको संस्कार गरिने छ ।
उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ ।
एलिजाबेथ अलेक्जेन्ड्र मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रूपमा जन्मेकी थिइन् । त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन् । किनभने उनी रोलक्रममा आफ्नो बुबा र काका पछि तेस्रो स्थानमा थिइन् ।
१९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन् । जो युद्धको समयमा उनका प्रेमी थिए । उनको २०२१ मा निधन भयो ।
१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन् । राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्यभिषेक समारोह आयोजना गरिएको थियो ।
उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर इन चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन् । अब ती सबै पदवी स्वतः उनको छोरामा सर्ने छ ।
उनका ४ छोराछोरी, ७ नातानातिना र १२ पनातिपनातिनी छन् ।
रानी एलिजाबेथको शासनकालमा १५ जना अलग–अलग प्रधानमन्त्री बने । जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन् ।
२०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन् ।
रानी एलिजाबेथ विसं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । तत्कालीन राजा महेन्द्रले देशको पञ्चायती व्यवस्था लागु गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो ।
उनको सो भ्रमणले विशेष चर्चा पाएको थियो । उनले नेपालप्रति विशेष चासो राख्ने गरेको कूटनीतिज्ञहरू बताउँछन् ।