काठमाडौँ, २३ भदौ । चीनका राष्ट्रपति सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ ।
युक्रेनसँगको युद्ध जटिल मोडतिर गइरहेका बेला यी दुई सहयोगी शक्ति राष्ट्र प्रमुखबीच भेटवार्ता हुन लागेको हो ।
उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने सांघाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो ।
चीनका लागि रूसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढंगले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचार विमर्श हुने बताए ।
कोभिड–१९ को महामारीपछि चिनियाँ नेता सीको यो पहिलो विदेश भ्रमण हुने छ । यद्यपि, मुख्यभूमि चीनबाट उनी गत असार १७ गते हङकङ पुगेका थिए ।
हङकङ चीनलाई हस्तान्तरण गरिएको ३५औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औधोगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएका थिए ।
सांघाइ सहयोग संगठनमा चीन, रूस, चार मध्य एसियाली देश काजकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन् ।
युक्रेनमा सैन्य आक्रामण सुरू गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला मस्कोले एसियाली देशहरू, विशेषगरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ ।
बेइजिङले युक्रेनमा मस्कोको हस्तक्षेपको निन्द गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो ।