काठमाडौँ, २२ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।
बुधबार अनेरास्ववियू क्रान्तिकारीका क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताएका हुन् ।
अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा सञ्चालक दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएपछि उनले उपमहासचिवको प्रसंग निकाल्दै आफू संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताए ।
उनले कार्यक्रममा भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’
महासचिव चयनमा असहमति जनाएका शर्माले उपमहासचिव पद अस्वीकार गर्ने भने पनि सार्वजनिक रूपमा उनले बुधबार सो घोषणा गरेका हुन् । उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन ।’
उक्त कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । देव गुरूङलाई महासचिव बनाउने प्रचण्डको निर्णयमा शर्मा असन्तुष्ट थिए । तर, शर्माले यसभन्दा अघि यसरी उपमहासचिव पद अस्वीकार गरेकोबारे बोलेका थिएनन् ।