काठमाडौँ, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँड गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन् ।
मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आफ्नो भए पनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।
‘सिट संख्या सबै एकैचोटी टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ,’ उनले भने ।
प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए । यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २५–२५ सिट दाबी गरेको र सबै दलको दाबीअनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए ।
‘कांग्रेसले १०० सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौँ केही तलमाथि होला । समाजवादीको २५ वरिपरि होला,’ उनले भने, यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौँ । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौँ ।’