काठमाडौँ, १९ भदौ । ज्यान मुद्दामा जेल सजाय भोगिरहेका अभियुक्त मोहम्मद अफ्ताव आलमपछि भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका विजय गच्छदारलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।
आलमलाई सिफारिस गरेकोमा व्यापक आलोचना भए पनि त्यसको प्रवाह नगरी कांग्रेस सुनसरीले क्षेत्र नम्बर ३ बाट गच्छदारलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका सांसद् गच्छदारको पद निलम्बनमा छ । अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका छन् ।
यस्तो अवस्थामा कांग्रेस सुनसरीले अन्य आकांक्षी नेताको नाम काटेर भ्रष्टाचारमा मुछिएका गच्छदारको एकल नाम सिफारिस गरिएको हो ।
सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक सांसद निर्वाचित भइसकेका छन् भने यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन् ।