अक्टोबरमा सिपिसीको महाधिवेशन : राष्ट्रपतिमा सी चिनफिङ दोहोरिने, प्रधानमन्त्रीमा हुको सम्भावना बलियो

112

काठमाडौँ, १५ भदौ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को महाधिवेशन अक्टोबरमा हुने भएको छ । सिपिसीको मंगलबार आयोजित पोलिटिकल ब्युरो बैठकले २०औँ महाधिवेशनको मिति अक्टोबर १६ का लागि तय गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक पाँच पाँच वर्षमा आयोजना हुने गर्दछ । सिपिसीका महसचिव समेत रहेका राष्ट्रपति सि चिनफिङको अध्यक्षतामा बसेको बैठकले १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र पार्टी महाधिवेशनको तयारीको बारेमा छलफल गर्नुका साथै महाधिवेशनको मितिसमेत तय गरेको हो ।

केन्द्रीय समितिको पूर्ण बैठक अक्टोबर ९ मा बोलाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले राष्ट्रिय महाधिवेशन बोलाउनका लागि पूर्ण सत्रमा प्रस्ताव पेस हुने छ ।

२०औँ महाधिवेशन सम्पूर्ण पार्टी र सिंगो राष्ट्रका लागि महत्वपूर्ण भएको भन्दै महाधिवेशनले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रा तय गर्ने र दोस्रो शताब्दीको लक्ष्यतर्फ अग्रसर हुने विश्वास लिइएको छ ।

महाधिवेशनबाट चिनियाँ विशेषतासहितको समाजवादको झन्डा बोकेर मार्क्सवाद, लेलिनवाद, माओत्सेतुङ विचार, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त एवम् विकासमा वैज्ञानिक दृष्टिकोणमा कायम रहने र चिनियाँ विशेषतासहितको समाजवादबारे सीको विचारलाई पूर्ण रूपमा कार्यान्वयन लागु गर्ने निर्णय भएको सिन्ह्वाले जनाएको छ ।

महाधिवेशनले विगत पाँच वर्षमा पार्टीको कामको मूल्यांकन गर्नुका साथ सम्पूर्ण पार्टी, चिनियाँ जनता र सबै जातीय समूहका जनतालाई एकताबद्ध र अगुवाइ गर्ने, सी चिनफिङसहित पार्टीको केन्द्रीय समितिको प्रमुख उपलब्धि र बहुमूल्य अनुभवको समीक्षा गर्ने छ । त्यसका साथै नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादलाई कायम राख्ने र विकास गर्नेमा समेत महाधिवेशनले जोड दिने छ ।

महाधिवेशनले अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिको गहिरो समीक्षा गर्ने, नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा आत्मसात गर्ने छ ।

सिन्ह्वाका अनुसार महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नका लागि सबै योजना बनाउने छ ।

चीनलाई सबै हिसाबले आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनरूत्थानलाई सबै पक्षमा अगाडि बढाउनका लागि पार्टीका सबै सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न र परिचालन गर्ने सिपिसीले जनाएको छ ।

यो महाधिवेशनले चिनियाँ राष्ट्रपति सीको तेस्रो कार्यकाललाई वैधानिकता दिने छ । यसअघि २०१८ मा उनको कार्यकालको सीमा हटाइएको थियो । यो महाधिवेशन चीनका लागि सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो ।

पार्टीको २०औँ महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ फेरि निर्वाचित हुने निश्चित भए पनि प्रधानमन्त्री र अन्य महत्वपूर्ण पदाधिकारीको भने टुंगो लागेको छैन । चीनका हालका प्रधानमन्त्री ली कछयाङले बिदा लिने घोषणा गरिसकेका छन् । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधि सहभागी हुने छन् ।

चीनमा प्रधानमन्त्रीका रूपमा अहिलेका उपप्रधानमन्त्रीहरू हु चुनहवा, ली कुयांग, ली सीमध्ये एक जना चुनिने सम्भावना छ । तर, निकटता र वरियताको हिसाबले हु नै प्रधानमन्त्री बन्ने सम्भावना बढी रहेको चर्चा छ । उनले चिनियाँ राष्ट्रपतिको विचार र नीतिलाई प्रभावकारी ढंगले लागु गरेकाले सीले उनलाई प्रधानमन्त्री बनाउने सम्भावना छ ।

महाधिवेशनले केन्द्रीय समिति, पोलिटिकल ब्युरो र केन्द्रीय अनुशासन आयोगका पदाधिकारी समेत नयाँ निर्वाचित गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...